
काठमाण्डु, १२ मंसिर– कांग्रेस सभापति शेरबहादुर देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण निर्दोष रहेको दाबी गरेका छन् ।
काँग्रेस रुपन्देहीको जिल्ला सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै उनले खाँण निर्दोष रहेकाले उनले न्याय पाउनेमा आफू विश्वस्त रहेको दाबी गरे । खाणलाई छुटाउन आफ्ना मानिसहरु लागिपरेको उनको भनाइ थियो ।
‘हाम्रा वकिल साथीहरु बालकृष्ण खाँणलाई न्याय दिलाउन लागिरहनुभएको छ’, देउवाले भने, ‘बालकृष्ण खाँणजीले अवश्य न्याय पाउनुहुनेछ यसमा मलाई विश्वास छ ।’ खाँणलाई रुपन्देहीका जनताले पटकपटक जिताएर पठाएको उल्लेख गर्दै उनले मतदाता दुःखी हुनु स्वभाविक रहेको बताए ।
फरक प्रसंगमा उनले काँग्रेस एकताबद्ध हरेको दाबी गरे । गौतम बुद्ध जन्मस्थल रूपन्देहीबाट आफूले एकताको सन्देश प्रवाह गरेको भन्दै अनुसरण गर्न कार्यकर्तालाई भने ।