‘अमेरिका पठाउँछौँ’ भनेर १५ लाख ठगेको आरोपमा आमाछोरा पक्राउ

काठमाण्डु टुडे २०८० मंसिर १२ गते १८:२६ मा प्रकाशित

काठमाण्डु, १२ मंसिर– प्रहरीले काठमाण्डुबाट ‘अमेरिका पठाउँछौँ’ भनेर ठगेको आरोपमा आमाछोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डु महानगरपालिका–१४ घर भएकी ६४ वर्षीया शान्ति श्रेष्ठ र उनका छोरा ३६ वर्षका विशाल श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ ।

आरोपीहरुले चन्द्रबहादुर रावललाई अमेरिका जान ‘४० लाख लाग्छ’ भनेर १५ लाख लिएर सम्पर्कविहीन भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिएका छन ।

अमेरिकामा पुगेपछि मासिक ३ लाख तलब हुने जागिर मिलाइदिने उनीहरूले आश्वासन दिएको पीडितले प्रहरीलाई जनाएको उनले बताएका छन । आरोपीहरूलाई बानेश्वरबाट पक्राउ गरेर कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको एसपी रेग्मीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us