
काठमाण्डु, १२ मंसिर– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्र अनंकित द्वितीय श्रेणी, खरिदार वा सो सरहका कर्मचारीको सरुवा फागुनसम्मको लागी स्थगित गरेको छ ।
मन्त्रालयले लामो समयदेखि दुर्गम स्थानमा बसी सेवा गरिआएका कर्मचारीहरुलाई बढुवा प्रयोजनार्थ मर्का पर्ने भन्दै सरुवा स्थगित गरेको जनाएको छ । लोक सेवा आयोगको वार्षिक कार्यतालिका अनुसार राजपत्र अनंकित प्रथम श्रेणी, नायब सुब्बा वा सो सरहको पदहरूमा विज्ञापन प्रकाशित हुने (खुला प्रतिस्पर्धा तथा बढुवा) समय सुरु भएको छ ।
बढुवाको मुखमा खरिदार वा सो सरहको सरुवा गर्दा बढुवामा समस्या हुने देखिएपछि सरुवा स्थगित गरिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयको संघीय तथा प्रादेशिक कर्मचारी शाखाका शाखा अधिकृत हरिशरण न्यौपानेद्धारा हस्ताक्षरित परिपत्रमा भनिएको छ,‘ सरुवा स्थगित गर्नुको अर्को कारण बढुवाका लागि मात्रै अंक थप्न दुर्गम स्थानका निकायहरुमा सरुवा भएर जान दोहोरो सहमति लिने क्रम बढेकाले हो । यसरी बढुवा हुनुभन्दा अघि सरुवा गर्दा दुर्गममा बसेर काम गरेका कर्मचारी मर्कामा पर्छन् ।’