
काठमाण्डु, १२ मंसिर– राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ–१ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने तयारी गरेको छ । रास्वपाको विधानमा दुई जना उपसभापति रहने व्यवस्था रहेको छ । सोही अनुरुप तनहुँ–१ बाट निर्वाचित सांसद वाग्लेलाई उपसभापति बनाउन लागिएको रास्वपाका एक नेताले जानकारी दिएका छन ।
अहिले महोत्तरीको जलेश्वरमा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमै उनलाई उपसभापति बनाउने तयारी गरेको ति नेताले जानकारी दिएका छन । त्यस्तै, रास्वपाले ११ जना केन्द्रीय सदस्य मनोनीत गर्ने तयारी गरेको छ । रास्वपाको अहिले ३९ सदस्यीय केन्द्रीय समिति रहेको छ । त्यसमा मोहनबहादुर थापाले ढाकाकुमार श्रेष्ठको अडिओ प्रकरणमा नाम मुछेकाले राजीनामा दिएका छन्।
विधानको धारा २३ अनुसार रास्वपाले १२१ सदस्यीय केन्द्रीय समिति बनाउन सकिने छ । त्यस्तै, विधानको धारा २५ मा सभापतिसहित ११ सदस्यीय पदाधिकारी रहने व्यवस्था रहेको छ । जसमा सभापति १, उपसभापति २, महामन्त्री १, सहमहामन्त्री २, कोषाध्यक्ष १, सहकोषाध्यक्ष २, प्रवक्ता १ र सहप्रवक्ता १ रहने विधानमा व्यवस्था रहेको छ । रास्वपाका २० सांसदमध्ये ६ जना मात्रै केन्द्रीय समिति छन्। सांसदमध्ये केहीलाई केन्द्रीय समितिमा मनोनीत गर्ने रास्वपाको तयारी रहेको छ ।