कोशी प्रदेशबाट साढे २ अर्बको चिया र सवा अर्बको अलैंची निर्यात

काठमाण्डु टुडे २०८० मंसिर १२ गते १५:०४ मा प्रकाशित
काठमाण्डु, १२ मंसिर–  कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैंची, अदुवा र अम्रिसो निर्यातमा वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०८०र८१ को त्रैमासिक अवधिमा  पूर्वी नाका काँकडभिट्टाबाट रु २ अर्ब ५९ करोड ८६ लाख मूल्य बराबरको ४ हजार ३३१ मेट्रिक टन जैविक चिया भारत निर्यात भएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयले जानकारी दिएको छ ।
झापा, इलाम, पाँचथर, धनकुटा लगायत कोशी प्रदेशको जिल्लामा चियाको खेती हुने गरेको छ  । पछिल्लो समय नेपालको जैविक चियाको भारतलगायत युरोपको बजारमा माग बढिरहेको व्यवसायीले जानकारी दिएका छन । पहाडी जिल्लामा धेरै उत्पादन हुने अलैंची, अदुवा र अम्रिसो पनि भारतीय बजारमा निर्यात हुँदै आएको उनीहरुले बताएका छन  ।   आ व २०८०र८१ को साउन, भदौ र असोज महिनामा रु१ अर्ब २० करोड ८० लाख मूल्य बराबरको १ हजार ५१० मेट्रिक टन अलैंची भारत निर्यात भएको प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी  चन्देश्वर ठाकुरले जानकारी दिएका छन  ।
पूर्वी पहाडको इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर, खोटाङ लगायत जिल्लामा ओसिलो खोल्सा र खेतमा अलैंचीको खेती हुने गरेको छ  । औषधि र मसलाका रुपमा प्रयोग हुने भएकाले यसको बजार मूल्य अति उच्च रहेको छ ।आव २०८०र८१ को त्रैमासिक अवधिमा रु २२ करोड ९५ लाख मूल्य बराबरको १ हजार ७९३ मेट्रिक टन अदुवा पूर्वी नाका काँकडभिट्टा भएर निकासी भएको छ । निर्यातअघि झापा र इलाममा अदुवाको प्रशोधन हुने गरेको छ ।
किसानले उत्पादन गरेको अदुवा व्यवसायीले खेतमै गएर खरिद गर्दै आएका छन् । उक्त अदुवालाई झापाका विभिन्न प्रशोधन केन्द्रमा पुर्‍याएर गुणस्तरीय बनाएर भारत निकासी हुने गरेको छ ।
अम्रिसो कुचो बनाउनका लागि प्रयोग गरिन्छ । नेपाली अम्रिसोको भारत तथा बङ्गलादेशमा ठूलो माग छ । तथापि नेपालले अधिकांश अम्रिसो भारत निर्यात गर्दछ । चालु आवको त्रैमासिक अवधिमा रु २९ करोड ४० हजार मूल्य बराबरको २ हजार ४१७ मेट्रिक टन अम्रिसो भारत निकासी भएको ठाकुरले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us