
जाजरकोट, ५ मंसिर– जाजरकोटको भेरी नगरपालिका–२ मा एक महिने शिशुको चिसोका कारण ज्यान गएको छ ।
भूकम्पले घर भत्किएपछि त्रिपालुमनि बसेका बेला हुकुमबहादुर पुनकी एक महिनाकी छोरी निरुताको मृत्यु भएको हो ।
भेरी –२ का पूर्ववडाध्यक्ष कालिबहादुर वलीले तीन दिनअघि बिरामी भएर अस्पताल लगिएकी शिशुको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।
जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीलाई उद्धृत गर्दै वलीले निमोनियाका कारण शिशुको ज्यान गएको बताए । चिसोकै कारण जाजरकोटमा ५० बढी बालबालिका बिरामी परेका छन् । चिसोका कारण यसअघि ११ जनाको ज्यान गइसकेको छ ।
गत कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी एक सय ५४ जनाको मृत्यु भयो ।
भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्ण र तथा ३५ हजार चार सय ५५ घर आंशिक रुपमा क्षति भएका छन् ।