फरक–फरक दुर्घटनामा ६ जनाको मृत्यु

काठमाण्डु टुडे २०८० मंसिर ५ गते ८:२४ मा प्रकाशित

काठमाण्डु, ५ मंसिर– विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ६ जनाले ज्यान गुमाएका छन् ।

सर्लाही, रुकुम पश्चिम र रुपन्देहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु भएको हो  । सर्लाहीको हरिवन नगरपालिका– ९, नोचामा बिंगरको ठक्करबाट ५२ वर्षीया लक्ष्मी पोखरेलको ज्यान गएको छ ।

सोही घटनामा परेर ट्राफिक प्रहरी हवल्दार सुबोधकुमार यादव गम्भीर घाइते भएका छन् । महिलालाई ठक्कर दिएको विंगरलाई रोक्न खोज्दा यादवलाई समेत ठक्कर दिएको हो  ।

अनियन्त्रित रहेको विंगरले पार्किङ गरिराखेको प्रदेश २०३८ प ०३११ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएको थियो  । घाइते प्रहरी हवल्दार यादवको बायाँ खुट्टामा चोट लागेको र स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । विंगर र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।

सिद्धार्थ राजमार्गअन्तर्गत रुपन्देहीको बुटवल–भैरहवा सडकखण्डकको तिलोत्तमामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । लु४९प २२३० नम्बरको मोटरसाइकललाई ना६ख८१६१ नम्बरको ट्रकले ठक्कर तिलोत्तमा– १ का ५० वर्षीय माधवलाल देवकोटा र तिलोत्तमा जानकी नगर बस्ने ४० वर्षकी यादा क्षेत्रीको मृत्यु भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक शोभा पाण्डेले जानकारी दिइन् ।

यस्तै रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ गोइरीजिउलामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् । चौरजहारी–१३ रातामाटाबाट मुसिकोट खलंगातर्फ आइरहेको लु१ज २२९७ नम्बरको जिप दुर्घटनामा परेको थियो  ।

दुर्घटनामा परी चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सपना बुढाको १७ महिनाको छोरा प्रतीक बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए  । मस्तबहादुरको चौरजहारी अस्पतालमा उपचारका क्रममा र प्रतीकको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमा मृत्यु भएको उनले बताए ।

दुर्घटनामा घाइते भएका चौरजहारी– १३ नाक्लाका भीमबहादुर विक, सहारा परियार, रणबहादुर ओली, प्रेम परियार, कविता परियार र प्रविर पुनको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । यस्तै, चौरजहारी–१३ की ढिला विष्ट, सानीभेरी गाउँपालिका–२ की सीता पुन, सीता विष्ट र आठ वर्षीया दिपशिखा पुनको प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । अन्य नौजनाको चौरजहारी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए  ।

दुईव मोटरसाइकल आपसमा ठोक्किँदा दाङमा एकजनाको मृत्यु भएको छ । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा४प८४६४ नम्बरको मोटरसाइकल र घोराहीदेखि तुलसीपुरतर्फ आउँदै गरेको रा७प६५५४ नम्बरको मोटरसाइकल आइतबार बेलुका ग्वारखोलानजिकै आपसमा ठोक्किँदा दुर्घटना भएको हो  ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार मृत्यु हुनेमा मोटरसाइकलचालक २८ वर्षीय अमृत केसी छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us