काठमाण्डु, ४ मंसिर– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सडक आश्रित मानवहरुको समुचित व्यवस्थापन हुने गरी आगामी संसद् अधिवेशनमा विधेयक पेस गर्ने बताएका छन ।
आज (सोमबार) मानव सेवा आश्रमले काठमाण्डुमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । उनले मानव सेवा आश्रमलाई सडक मानव उद्धारका लागि आतिआवश्यक पर्ने भवन, जग्गा, बाहनलगायतका सेवा उपलब्ध गराउन पनि सरकार प्रतिबद्ध रहेको पनि बताएका छन ।
उनले सबै प्रदेशमा एकरएक वटा सडक आश्रित मानव उद्धारका लागि आजैदेखि सञ्चालनमा आउने गरी सवारी साधन उपलब्ध गराउने घोषणा समेत गरेका छन ।
उनले सडक मानव मुक्त बनाउने नेपाल सरकारको घोषणा पूरा गर्नका लागि एक महिनाभित्र मन्त्रीपरिषदबाट ठोस योजना बनाई अघि बढ्ने पनि बताएका छन ।
प्रधानमन्त्री प्रचण्डले प्रदेश र स्थानीय तहको सरकारलाई पनि सडक मानवहरुको उचित व्यवस्थापनका लागि आवश्यक बजेट तथा कार्यक्रमको व्यवस्थापन गर्न पनि आफूले समन्वय गर्ने बताएका छन ।