टिकटक प्रतिबन्ध विरुद्धको रिट न्यायाधीश कुमार चुडालको इजलासमा

काठमाण्डु टुडे २०८० मंसिर ४ गते १२:५१ मा प्रकाशित

काठमाण्डु, ४ मंसिर– टिकटक प्रतिबन्धविरुद्ध परेका १० रिटको सुनुवाइ न्यायाधीश डा. कुमार चुडालको इजलासमा हुने भएको छ । अन्तरिम आदेशको माग गर्दै दायर रिटमाथि सोमबार सर्वोच्चमा एक न्यायाधीशको इजलासमा प्रारम्भिक सुनुवाइ हुने भएको छ ।

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिएका छन । ती रिटमाथिको प्रारम्भिक सुनुवाइ सोमबार न्यायाधीश डा.कुमार चुडालको इजलासमा हुन लागेको हो ।

सरकारले सार्वजनिक शिष्टाचारविरुद्धका सामाग्री टिकटकले नहटाएको र प्रयोगकर्ताको विवरण सरोकारवालालाई उपलब्ध नगराएको भन्दै नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय भएसँगै प्रतिबन्धका सम्बन्धमा नेपालमा दुवै खाले प्रतिक्रिया आएका थिए ।

कतिपयले प्रतिबनध ठीक छ भनेर सरकारी निर्णयको प्रशंसा गरिरहँदा अधिकांशले भने टिकटकमाथि प्रतिबन्ध नभई नियमनको खाँचो रहेको औंल्याएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us