

काठमाण्डु,२ मंसिर– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा सक्रिय युवाहरुको जनसङ्ख्या पर्याप्त रहे पनि युवाहरूमा निराशा रहेको बताएका छन ।
आज शनिबार एमाले मुख्यालय च्यासलमा भएको एमालेको जनसङ्गठनको विशेष बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन । उनले नेपालको ६० प्रतिशत बढी जनसङ्ख्या सक्रिय रहेको, ४२ प्रतिशत युवा जनशक्ति रहेको भने पनि अहिले समग्र जनशक्तिको १० प्रतिशत युवा बाहिर जाने अवस्था रहेको बताएका छन ।
उनले देश राजनीतिक अस्थिरता र अराजकतामा गएको पनि बताएका छन् । देशमा आर्थिक अवस्था ओरालोमा लागेको, सामाजिक विशृङ्खलता बढिरहेको सामाजिक सद्भाव बिथोल्ने क्रियाकलाप भइरहेको ओलीले बताएका छन् । सांस्कृतिक हिसाबले देशलाई पतनमा लैजाने प्रयास भइरहेको ओलीले टिप्पणी गरेका छन् ।
अध्यक्ष ओलीले स्वास्थ्य क्षेत्रमा पनि समस्या रहेको औँल्याएका छन् । उनले भने– ‘स्वास्थ्य क्षेत्रमा कुनै प्रगति छैन, अधोगतिमा लैजाने काम भइरहेको छ । नर्सहरू निष्कासित हुन्छन्, नर्सको आवश्यकता छ देशलाई तर नर्सिङ क्याम्पस बन्द गरिन्छन् र भएका नर्सहरूलाई बाहिर निष्कासित गरिन्छ ।
डाक्टर पढाउन पहिलादेखि पढाइरहेका केहीले पाएका छन् तर डाक्टर पढाउन, मेडिकल शिक्षा दिन यो देशमा पाइँदैन निषेध गरिएको छ । युवा पङ्क्तिमा बढ्दो निराशा छ, बाहिर जाने पङ्क्ति बढिरहेको छ ।’