
काठमाण्डू, २७ असार– काठमाण्डू महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको छ । काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा काठमाण्डू प्लाजास्थित महानगरको कार्यालयमा बसेको बैठकले आगामी आर्थिक वर्ष ०८२–८३ का लागि बजेटको सीमा निर्धारण गरेको मेयर बालेको सचिवालयले जानकारी दिएको छ ।
बैठकले आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब ११ करोड बजेटको सीमा निर्धारण गरेको छ । बैठकमा प्रमुख शाहले जनचाहना अनुरूप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएका थिए ।
चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने निर्णय समेत समितिले गरेको छ । केही बेरमा बस्ने ४० औँ नगर कार्यपालिका बैठकले नगर सभाको मिति तय गरी नगर सभामार्फत बजेट सार्वजनिक गर्ने छ ।
नगर सभा बैठकमा प्रमुख बालेनले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् भने उपप्रमुख सुनिता डंगोलले बजेट पेस गर्ने छिन् ।