

काठमाण्डु, १ मंसिर– नेपालमा चिनियाँ सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा शुक्रबार १० फरकफरक रिट निवेदन दायर भएका छन् ।
सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले टिकटक प्रतिबन्धविरुद्ध १० वटा रिट निवेदन दर्ता भएको बताए । उनका अनुसार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता स्वागत नेपालसहितले १० वटा रिट निवेदन दर्ता गराएका हुन् ।
सबै रिट निवेदनमा टिकटकमाथिको सरकारी प्रतिबन्ध खारेजीको माग गरिएको छ । ती सबै निवेदनलाई एकै ठाउँमा राखेर आगामी ४ मंसिरमा सुनुवाई लागि समय तोकिएको सहप्रवक्ता घिमिरेले जानकारी दिए । सामाजिक र पारिवारिक सद्भाव भड्काएको तथा राष्ट्रिय सुरक्षामै चुनौती थपेको भन्दै गत २७ कात्तिकमा मन्त्रिपरिषदले नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
सामाजिक सञ्जाल प्रयोगकर्ता सरकारको उक्त निर्णयको समर्थन र विरोधमा बाँडिएका छन् । कतिपय सत्तापक्षमै नेताले समेत टिकटकमा जथाभावी सामग्री पोष्ट गर्नेमाथि कारबाही गर्नुपर्नेमा इन्टरनेट प्लाटर्फम नै बन्द गर्नु गलत भन्दै सरकारको निर्णयमा आपत्ति जनाएका छन् ।
टिकटक कम्पनीले पनि स्थानीय कानून उल्लंघन गरी प्रकाशित सामाग्री हटाउन सक्ने गरी प्रहरीको साइबर ब्युरोलाई टुलमा पहुँच दिइएको भए पनि प्रतिबन्ध लगाइएको भन्दै आपत्ति जनाएको छ । सरकारी प्रतिबन्धपछि पनि अधिकांश प्रयोगकर्ता भीपीएन प्रयोग गरी टिकटकमा सक्रिय भइसेकका छन् ।