जाजरकोटमा भूकम्पको कारण त्रिपालमा बस्दै आएका दुई जनाको चिसोले मृत्यु

काठमाण्डु टुडे २०८० मंसिर १ गते १६:२१ मा प्रकाशित

काठमाण्डु, १ मंसिर–चिसोका कारण जाजरकोटमा दुई जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंह रहेका छन ।

भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका उनीहरुको मृत्यु भएको हो । कार्की र सिंह दुवै दमका दीर्घरोगी भएको र चिसोका कारण रोगले च्याप्दै गएपछि दुवैको मृत्यु भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिएका छन ।

उनका अनुसार भूकम्पपछि घर बस्न नमिल्ने भएपछि जाजरकोटका ३४ हजारभन्दा बढी घरपरिवार त्रिपालमुनि बस्दै आएका छन् । त्रिपालमुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएको उनले बताएका छन ।

बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us