चिनियाँ राष्ट्रपति सीलाई भेटेपछि बाइडेनले भनेः उनी तानाशाह नै हुन्

काठमाण्डु टुडे २०८० कार्तिक ३० गते १३:३३ मा प्रकाशित

एजेन्सी– अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनिया राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ ।

सी र बाइडेनबीच बुधबार क्यालिफोर्नियास्थित सनफ्रान्सिस्कोमा भेटवार्ता भएको हो । राष्ट्रपति सी एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) को शिखर सम्मेलनमा सहभागी हुन अमेरिका पुगेका बेला विश्वका दुई महाशक्ति राष्ट्रका राष्ट्रपतिबीच भेटवार्ता भएको हो ।

भेटपछि बाइडेनले राष्ट्रपति सीसँगको भेट फलदायी भएको सञ्चार माध्यमका प्रतिनिधिलाई बताए । दुई फरक विश्व ध्रुवको नतृत्व गरिरहेका चीन र अमेरिकाबीच रुस–युक्रेन र इजरायल–हमास युद्ध, चीन र ताइवानबीचको विवादसहित विश्व राजनीतिका कतिपय विषयमा विवाद छ ।

राष्ट्रपति बाइडेनले दुई मुलुकबीचको सम्बन्धमा भविष्यमा आउने सक्ने विवादको समाधान संवादबाट हुनुपर्नेमा जोड दिएका थिए । न्यूयोर्क टाइम्सका अनुसार दुई राष्ट्रपतिबीच रूस–युक्रेन र इजरायल–हमास युद्धबारे छलफल भएको थियो ।

यद्यपि भेटपछि पनि बाइडेनले चिनियाँ राष्ट्रपति सीलाई तानाशाहको संज्ञा दिएका छन् । यसअघि गत जुनमा पनि बायडेनले सीलाई तानाशाह भनेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us