
काठमाण्डु, २४ कातिक– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको पदीय जिम्मेवारीमा नरहने केन्द्रीय सदस्य मोहनबाहादुर थापाको घोषणालाई स्वीकार गर्ने भएको छ ।
आज ( शुक्रबार) पार्टीको मुख्यालय बालाजुमा बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।थापामाथि पूर्वसांसद डा ढाकाकुमार श्रेष्ठले मिडियामार्फत आफूलाई मन्त्री बनाउन ३ करोड रुपैयाँ मागेको आरोप लगाएका थिए ।
श्रेष्ठले सञ्चारमाध्यमहरुमा सार्वजनिक अभिव्यक्ति दिएकाले आफ्नो इज्जत प्रतिष्ठा र चरित्रमा आँच पुर्याउने कार्य भएको भनी उनले काठमाण्डु जिल्ला अदालतमा मानहानीको मुद्दा दायर गरेको र सोको टुंगो नलागेसम्म पार्टीको पदीय जिम्मेवारीमा नरहने जानकारी गराएको रास्वपाले बैठकको निर्णयमा उल्लेख गरेको छ ।
सभापति रविका विश्वास पात्रको रुपमा चिनिएका थापा अमेरिका बस्दा रुम पार्टन समेत रहेका थिए ।
निर्णयको ७ बुँदामा उल्लेख छ, ‘केन्द्रीय सदस्य मोहनबहादुर थापाले ३ करोड रुपैयाँ मागेको भनी पार्टीबाट निष्कासित पूर्व सांसद डा.ढाकाकुमार श्रेष्ठले सञ्चारमाध्यमहरुमा सार्वजनिक अभिव्यक्ति दिएकाले आफ्नो इज्जत प्रतिष्ठा र चरित्रमा आँच पुर्याउने कार्य भएको भनी मोहन बहादुर थापाले काठमाण्डु जिल्ला अदालतमा मानहानीको मुद्दा दायर गर्नुभएको र सोको टुंगो नलागेसम्म पार्टीको पदीय जिम्मेवारीमा नरहने जानकारी गराउनुभएकोमा उहाँको निर्णयलाई स्वीकार गरेको छ ।’