भ्रष्टाचारीलाई सुविधा दिएको भन्दै ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाण्डु टुडे २०८० कार्तिक २४ गते १५:२८ मा प्रकाशित

काठमाण्डु, २४ कातिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा दोषी ठहर भएर बर्खास्तमा परेका शिक्षकलाई विभिन्न सुविधा र उपदान दिलाएको भन्दै ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले सुविधा लिने शिक्षक र सुविधा दिलाउन प्रयास गर्ने प्रधानाध्यापक तथा शिक्षा कार्यालयका अधिकारीहरुमाथि मुद्दा दायर गरेको हो । आफू भ्रष्टाचारी ठहरको फैसला र कागजात लुकाएर सुविधा लिने बाराका राम प्राविका शिक्षक योगेन्द्रप्रसाद यादवमाथि दोस्रो पटक भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

विशेष अदालतले विद्यालयको रकम हिनामिना गरेको आरोपमा १६ वैशाख २०७३ मा शिक्षक योगेन्द्रप्रसाद यादवलाई दोषी ठहर गरेको थियो । विशेष अदालतले उनलाई ४ महिना कैद र साढे ८८ हजार रुपैयाँ विगो र त्यति नै जरिवाना तोकेको थियो ।

मुद्दा चलेपछि म्याद गुजारेर बसेकाले उनले सर्वोच्च अदालतमा पुनरावेदन गर्न समेत पाएका थिएनन् । विशेष अदालतबाट दोषी ठहर भएपछि उनी स्वतः बर्खास्त हुनुपर्ने थियो ।

उनले कर्मचारी सञ्चयकोषमा रहेको बचत बाहेक अरु कुनै पनि सुविधा पाउदैनथे । तर उनले सरोकारवाला निकायका कर्मचारीहरुको सहयोगमा आफू कसुरदार भएको फाइल गायब बनाएको अख्तियारको आरोप रहेको छ ।

दोषी ठहर भएपछि उनले फाइल गायब बनाए, अनि शिक्षक पदबाट राजीनामा दिए । भ्रष्टाचारको आरोपमा निलम्बनमा परेका उनले आधा तलब पाइरहेका थिए । दोषी ठहर भएको फाइल गायब बनाएपछि थप आधा तलब निकासा लिएको अख्तियारले जानकारी दिएको छ ।

त्यसबापत मात्रै उनले १ लाख ५ हजार रुपैयाँ गैरकानूनी सुविधा लिएको अख्तियारको दावी छ । राजीनामा दिएपछि उनले औषधी उपचार, बिरामी बिदा र चाडपर्व खर्च लिए ।

त्यसपछि नियमित पेन्सनसमेत लिइरहेका थिए । उनले लिएको सबै सुविधा जोडेर अख्तियारले कुल १६ लाख ९२ हजार रुपैंया विगो मागदावी गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलाएको हो ।

शिक्षक योगेन्द्र यादवलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको पत्र पुग्दा जिल्ला शिक्षा कार्यालयमा बृजकिशोर यादव विद्यालय निरीक्षक थिए । विद्यालय प्रशासन शाखामा रहेका उनले निलम्बनको प्रक्रिया अघि बढाउनुपर्नेमा तलब निकासाको सिफारिस गरे ।

भ्रष्टाचारमा दोषी ठहर भएका शिक्षकलाई बर्खास्तको सिफारिस गर्ने उनले नै विभिन्न सुविधा उपलब्ध गराउन शिक्षक कितावखानामा पत्र पठाउने काम गरेको भन्दै अख्तियारले उनलाई समेत मुद्दा चलाएको छ ।

भ्रष्टाचारमा दोषी ठहर भएका शिक्षकलाई पेन्सनको सिफारिस गरेको आरोपमा प्रधानाध्यापक धमेन्द्रप्रसाद यादवविरुद्ध पनि मुद्दा चलेको छ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका शिक्षकले दिएको राजीनामा बुझेका उनले ती शिक्षक कुनै विभागीय कारवाहीमा नपरेको भनी विवरण तयार पारेर शिक्षा विकास तथा समन्वय इकाइ, बारामा पठाइदिएका थिए ।

अर्का प्रधानाध्यापक चेथारुप्रसाद कुर्मीले निलम्बनको अवधिको बाँकी रहेको आधा तलब समेत भुक्तानीका लागि सिफारिस गरेका थिए । अख्तियारको आरोपमा उनैले शिक्षक योगेन्द्रप्रसाद यादव दोषी ठहर भएका फैसला लगायतका कागजात गायब बनाएका थिए ।

शिक्षक योगेन्द्रप्रसाद यादव विद्यालयको रकम हिनामिना गरेको आरोपमा २०७३ सालमा नै भ्रष्टाचारी ठहर भएका थिए । त्यतिबेला उनीमाथि विद्यालयको रकम निकालेर दुरुपयोग गरेको आरोप थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्षको किर्ते हस्ताक्षर गरेको आरोप खेपेका उनले अदालतको म्याद गुजारेका थिए । विधिविज्ञान प्रयोगशालाबाट समेत उनले हस्ताक्षर दुरुपयोग गरेको देखिएको भन्दै विशेष अदालतले उनलाई कैद र जरिवानाको फैसला गरेको थियो ।

भ्रष्टाचारको आरोपमा दोषी भई बर्खास्तमा परेको शिक्षक एवं कर्मचारी स्वतः बर्खास्तमा पर्छन र कुनै सुविधा पाउदैनन् । विवरण नै गायव बनाई सुविधा लिएको आरोपमा योगेन्द्र यादवमाथि दोस्रो भ्रष्टाचार मुद्दा चलेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us