
काठमाण्डु, २४ कातिक– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानसभाबाट जारी संविधानको रक्षार्थ वर्तमान सत्ता बनेको प्रष्ट्याउँदै दलहरूबीचको सहमतिअनुसार नै गठबन्धन अगाडि बढ्ने बताएका छन ।
लौहपुरुष गणेशमान सिंहको १०९ औँ जन्मजयन्तीका अवसरमा आज काठमाडौँका शोभाभगवतीमा आयोजित कार्यक्रममा उनले गठबन्धनभित्रका दलहरूको समझदारीअनुसार नै मुलुक अगाडि बढिरहेको बताएका छन ।
गठबन्धन निर्माणको आधार बलियो छ, गठबन्धनको आवश्यकता किन भयो भन्ने सबैलाई थाहा छ । असंवैधानिकरूपमा संसद् विघटन गरेका कारण यो गठबन्धन बनेको हो कांग्रेसको नेतृत्वमा जारी भएको संविधानमाथि प्रहार भएका कारण उक्त संविधान जोगाउन गठबन्धन बनेको हो ।’
उनले अहिलेको सत्ता गठबन्धनका कारण तत्कालीन सदनमा बहुमत पुगेपछि अदालतबाट संसद् विघटन बदर भएको स्मरण गर्दै निर्वाचनको समयमा पनि कायम रहेको गठबन्धनको समझदारीअनुसार सरकार सञ्चालन भइरहेको बताएका छन ।
उनले वर्तमान सत्ता गठबन्धन ढल्छ भन्ने कुरामा कुनै आधार नभएको दाबी गर्दै उनले संविधानको रक्षाका लागि गठबन्धन बनेकाले सहमतिअनुसार नै गठबन्धन अघि बढ्ने विश्वास व्यक्त गरे । उनले जनताको सङ्घर्षबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सबल बनाउन सबै राजनीतिक दल क्रियाशील हुनुपर्ने बताएका छन ।