
काठमाण्डु, २४ कात्तिक– ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोटका भूकम्प प्रभावितमध्ये करिब ८० प्रतिशतले त्रिपाल र खाद्यान्न प्राप्त गरिसकेको बताएका छन् ।
जाजरकोटबाट निर्वाचिन प्रातिनिधिसभा सदस्यसमेत हरेका बस्नेतले बाँकी स्थानमा पनि शनिबारसम्म प्रारम्भिक चरणको राहत सामग्री पुगिसक्ने बताए । जटिल भौगोलिक अवस्था, भूकम्पका कारण सडक मार्गमा भएको क्षति र सामग्रीहरुको अपर्याप्तता लगायत कारण राहत वितरणमा असहता भएको उनको भनाइ छ । तुलनात्मक रुपमा सुगम भेरी नगरपालिका र नलगाड नगरपाकिलामा गाडीबाट र दुगर्म बारेकोट, कुशे र जुनीचाँदे गाँउपालिकामा हेलिकप्टरबाट राहत सामग्री ओसार्ने काम भइरहेको बस्नेतले जानकारी दिए ।
उनले गम्भीर मानवीय संकटका बेला आंशिक सूचनामा आधारमा समाचार सम्प्रेषण नगरी आधिकारिक सूचनामा जोड दिन सञ्चार माध्यमलाई आग्रह गरे । सरकारले भूकम्प गएका दिनदेखि नै प्रभावकारी रुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको दाबी मन्त्री बस्नेतले गरे ।
भूकम्प गएको भोलिपल्ट बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र आफू प्रभावित क्षेत्रमा पुगेर घाइतेको उद्धार गरेको र त्यसयता धेरै काम भइसकेको उनको भनाइ छ । सरकारले सबै घाइतेको निःशुल्क उपचार गराइरहेको तथा मृतक परिवारलाई तत्कालका लागि दुई लाख रुपैयाँ दिने निर्णय गरेको स्मरण उनले गराए । ‘पहिलो दिन प्रभावकारी ढंगले उद्धारको काम भयो । त्यसयता हामी राहत वितरणको काममा लागिपरेका छौं । भौगोलिक विकटता, राहत सामग्रीको सीमितता र भूकम्पले सडकको अवस्था बिग्रिएका कारण राहत वितरणमा केही असहजता भएकै पक्क हो’, उनले भने, ‘उपलब्ध भएका सामग्री एक÷डेढ घण्टा पनि खलंगामा जम्मा भएर नरहने गरी वितरणको व्यवस्था मिलाइएको छ । विपदका समयमा सानासाना कमजोरी खोजेर बस्ने होइन । सबैले सकारात्मक ढंगले राहत र उद्धारको काममा सहयोग गर्नुपर्छ ।’
मानवीय संकटको गम्भीरतालाई ध्यानमा राखेर सरकारले जिम्मेवारीपूर्वक काम गरिहेकाले नआत्तिन उनले पीडितलाई आग्रह गरे । आफू भूकम्प गएका दिनदेखि बिहानै उठेर राति अबेरसम्म रद्धार, राहत संकलन र विचरणको काममा खटिएको बस्नेतले उल्लेख गरे । ‘सरकारले काम गरेन भन्ने पनि यदाकदा सुन्ने गरिएको छ’, उनले भने, ‘कुरा त्यसो होइन म भूकम्प गएका दिनदेखि भोकै अनिँदै पीडितसँगै छु । सरकारले आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको छ ।’ बस्नेतले जाजरकोटमा मात्र १८ देखि २९ हजार निजी घरमा पूर्ण रुपमा क्षति पुगेको र ३७ हजार घरमा आंशिक क्षति भएको प्रारम्भिक तथ्याङ्क संकलन भएको जनाए । राहत वितरणसँगै इन्जिनियरहरुले कुन घर बस्न योग्य छ र कुन छैन भन्ने पहिल्याउन सुरु गरेको जानकारी दिए । राहतपछि अस्थायी बासको प्रबन्ध मिलाउने काममा सरकार सक्रिय हुने मन्त्री बस्नेतले जानकारी दिए ।
जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते राति ११ बजेर ४७ मिनेटमा ६.४ रेक्टर स्केलको बिनाशकारी भूकम्प गएको थियो । भूकम्पमा परी १ सय ५३ जनाले ज्यान गुमाए । दुई सयभन्दा बढी घाइते भएका छन् । घाइतेको काठमाण्डौं, नेपालगञ्ज, सुर्खेत तथा जाजरकोट र रुकुमश्चिमका अस्पतालहरुमा उपचार जारी छ ।