
काठमाण्डु, २२ आसोज– प्रहरीले एकै रातमा ३९ जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले काठमाण्डु, स्याङ्जा, डडेल्धुरा र अछाममा जुवा खेल्दै गरेको अवस्थामा मंगलबार रातिमा ३९ जनालाई प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
काठमाण्डुको नागार्जुन नगरपालिका–२ ठुलोभर्याङस्थित गैरिगाउँ नजिक डेरा गरी बस्ने सिन्धुपाल्चोक तातोपानी घर भएकी ३७ वर्षीया साङ्गु शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शेर्पासमेत ६ जनालाई मंगलबार साँझ गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ११ हजार २ सय रुपैयाँ र ६ बुकतास सहित पक्राउ गरेको प्रहरीले बताएको छ । यसैगरी काठमाण्डुको महानगरपालिका–४ धुम्बाराही पिपलबोटस्थित सुन्दर कार्कीको टहरामा जुवातास खेल्दै गरेको अवस्थामा दोलखा भिमसेन नगरपालिका–५ घर भई काठमाडौँ काँडाघारी बस्ने ४० वर्षीय किरन थापा समेत ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको प्रहरीले बताएको छ ।
प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९२ हजार रुपैयाँ, २० हजार रूपैयाँको बैंक चेक १ थान र ११ बुक ताससहित पक्राउ गरेको हो ।
उता स्याङ्जाको पुतलीबजार नगरपालिका–८ बाहाकोट घर भई सोही नगरपालिका–४ नौडाँडामास्थित भीमबहादुर नेपालीको प्रशन्न होटलमा जुवातास खेलिरहेको अवस्थामा भीम बहादुरसमेत ८ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८१ हजार ३ सय रुपैयाँ र १ सय ५९ पत्ती ताससहित पक्राउ गरीएको प्रहरीले बताएको छ ।
यस्तै प्रहरीले डडेल्धुराको अमरगढी नगरपालिका–२ भेलस्थित चन्द्र भण्डारीको कुखुरा फारममा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २४ वर्षीय वीरेन्द्र खडायत समेत ९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले नगद १३ हजार ३५ रुपैयाँ र ३ बुक ताससहित उनीहरूलाई पक्राउ गरेको हो ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–३ कागतोला बस्ने बल बहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने विनोद शाहीसमेत ९ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बिनायकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३६ हजार १ सय रुपैयाँसहित पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।