संघीय संसद् भवनको निर्माण कार्य दुई महिनाभित्र सम्पन्न गर्न सभामुखको निर्देशन

काठमाण्डु टुडे २०८० कार्तिक २१ गते १६:१३ मा प्रकाशित

काठमाण्डु, २१ कातिक– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले निर्माणाधीन संघीय संसद्को भवन दुई महिनाभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन ।

आज मंगलबार सहरी विकास मन्त्रालयले संसद् भवनभित्र प्रयोग गरिने प्रविधिहरुको सम्बन्धमा जानकारी दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन ।

आफ्नो चासो संसद्को आगामी अधिवेशन नयाँ संसद् भवनबाट चलाउने रहेको उल्लेख गर्दै उनले प्रतिनिधि सभा र राष्ट्रिय सभाका मुख्य बैठक कक्षमा आवश्यक प्रविधिहरु दुई महिनाभित्र जडान गरिसक्न आग्रह गरेका हुन ।

सभामुख घिमिरेले सबै भवनहरुको निर्माण सम्पन्न नभएपनि बैठक बस्ने दुईवटा बैठक कक्षको भने प्राविधिक रुपमा सबै काम सक्नेगरी तयारी गर्न आग्रह गरेका छन ।

त्यसैगरी उनले संसद् भवनमा जडान गरिने प्रविधिहरुको बारेमा प्राविधिकहरुले जडान गर्दादेखि नै ज्ञान लिनुपर्ने बताएका छन । उनले भविष्यमा आइपर्न सक्ने प्राविधिक समस्याहरुको बारेमा प्राविधिकहरुले अहिलेदेखि नै ज्ञान हासिल गर्नुपर्ने पनि बताएका छन।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us