प्रभावित क्षेत्रमा भिड बढाएर उद्धार र राहतमा बाधा नपुर्‍याऔँ ,सांसदहरू फिल्डमा उपस्थित हुन आवश्यक छैन: सांसद गौतम

काठमाण्डु टुडे २०८० कार्तिक २१ गते १२:२५ मा प्रकाशित

काठमाण्डु, २१ कातिक– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले भूकम्प प्रभावित क्षेत्रमा सांसदहरू फिल्डमा उपस्थित हुन आवश्यक नरहेको बताएकी छन ।

उनले प्रभावित क्षेत्रमा भिड बढाएर उद्धार र राहतमा बाधा पुर्‍याउन नहुने बताएकी छन । उनले कानुन बमोजिम सरकारले फिल्डमा काम नगरे समिति मार्फत निर्देशन दिनुपर्ने धारणा राखेकी छन् ।

उनले भनेकी छन्, ‘भूकम्प प्रभावित क्षेत्रमा सांसदको उपस्थिति देखिएन भनेर विभिन्न संसदीय समिति मार्फत अवलोकनका नाममा त्यहाँ जाने चर्चा चलिरहेको सुनेँ ।

सांसदज्यूहरू विपद् जोखिम न्यूनीकरणबारे कत्तिको बहस गरेर कानुन बनाउनुभयो वा बनाउन तत्पर हुनुहुन्छ त्यो महत्त्वपूर्ण हो।’ उनी थप्छिन्, ‘सांसदको उपस्थिति र काम सदनमा हुने हो, कानुन बमोजिम सरकारले फिल्डमा काम नगरे समिति मार्फत निर्देशन दिने हो ।

तर आफै फिल्डमा उपस्थित हुन आवश्यक छैन । प्रभावित क्षेत्रमा भिड बढाएर उद्धार र राहतमा बाधा नपुर्‍याऊ। राज्यले छिटो भन्दा छिटो क्षतिको तथ्याङ्क सङ्कलन गरोस् र सोही आधारमा बाँकी कार्यक्रम तय हुनु पर्छ ।

सम्माननीय सभामुखको ध्यानाकर्षण गराउन चाहन्छु ।’ गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्प गएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us