साल्ट ट्रेडिङबाट खुद्रा व्यापारीले १० बोरासम्म चिनी पाउने, ११५ रूपैयाँ किलोमा बेच्नुपर्ने

काठमाण्डु टुडे २०८० कार्तिक २० गते १४:३२ मा प्रकाशित

काठमाण्डु, २० कातिक– साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी बिक्री वितरणका लागि उपलब्ध गराउने भएको छ । पछिल्लो समय नेपाली बजारमा चिनीको व्यापक अभाव रहेको छ ।

यसको प्रत्यक्ष मारमा सर्वसाधण र व्यापारी परेका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निरन्तर पहलपछि साल्ट ट्रेडिङले यस्तो प्रबन्ध गरेको हो ।

बजारमा चिनीको हाहाकार भएपछि प्रधानमन्त्री कार्यालयले चिनी उत्पादक उद्योगहरुसँग समन्वय गर्दै तीन हजार मेट्रिक टन चिनी साल्ट ट्रेडिङ मार्फत किन्ने प्रबन्ध गरेको थियो । यसका साथै अवैधरुपमा भित्रिएको चिनीको खोजतलास गर्न उपत्यकाका तीनवटै जिल्लामा सुरक्षा निकायसँग समन्वय गरी विशेष अनुगमन टोली परिचालन गरिएका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयको समन्वयमा सबै निकायका प्रतिनिधि सम्मिलित उच्चस्तरीय अनुगमन टोलीले टोलीले काठमाडौंका विभिन्न स्थानमा अवैधरुपमा पठाइएका सयौं बोरा चिनी बरामद गरेको थियो ।

उद्योगीबाट किनिएको चिनी साल्ट ट्रेडिङले आफ्ना आउटलेट, खुद्रा बिक्रेता संघ अन्तर्गतका केही पसल तथा खाद्य संस्थानबाट मात्रै बिक्री वितरण गरेपनि उपभोक्ताले लामो लाइन लाग्नुपर्ने अवस्था भएपछि खुद्रा व्यापारीले समेत १० बोरा चिनी बिक्री वितरणका लागि किन्न पाउने भएका छन् ।

यो चिनी प्रतिकिलो ११५ रुपैयाँमा उपभोक्ताले किन्न पाउने भएका छन । व्यापारीले तोकिएको निर्धारित मूल्यभन्दा बढीमा बेचेको खण्डमा भने कारवाहीमा पर्ने छन । खुद्रा व्यापारी तथा व्यवसायीहरुले सोमबारदेखि साल्ट ट्रेडिङको कालिमाटी शाखा र मंगलबारदेखि कोटेश्वर शाखाबाट चिनी किन्न पाउने भएका छन ।

सर्वसाधारणलाई सहजरुपमा चिनी उपलब्ध गराउन दशैंलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, वाणिज्य विभाग, खाद्य तथा गुणस्तर विभाग, आन्तरिक राजस्व विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका उच्च पदाधिकारीहरुको बैठकले विभिन्न उपायमाथि छलफल गरेको थियो ।

यस अन्तर्गत हरेक दिन अनुगमनलाई प्रभावकारी बनाउने, अवैध चिनी बरामद गर्न विशेष अप्रेशन सञ्चालन गर्ने, नेपाली चिनी उद्योगहरुमा मौज्दात रहेको चिनी उपभोक्ताका लागि बजारमा ल्याउन समन्वय गर्ने, भारतबाट चिनी आयातका लागि समेत पहल गर्ने निर्णय भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us