मन्त्रिपरिषद् बैठक: एक वर्षभित्र भूकम्प प्रतिरोधी आवास निर्माण गर्ने निर्णय

काठमाण्डु टुडे २०८० कार्तिक १९ गते १४:४४ मा प्रकाशित

काठमाण्डु, १९ कातिक– आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोट–भूकम्पबाट प्रभावितको खोज, उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी बनाउँदै तत्काल मर्मतसम्भार सम्पन्न भएपछि पुनःस्थापनाका लागि एकीकृत कार्ययोजना तयार गरी एक वर्षभित्र भूकम्प प्रतिरोधी आवास निर्माण गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आज सम्पन्न मन्त्रिपरिषद्को आकस्मिक बैठकले खोज, उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी बनाउन सुर्खेतलाई मुख्य र नेपालगञ्जलाई सहायक सम्पर्क कार्यालय तोक्ने निर्णय गरेको बैठकपछि नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।

उनले राहत र पुनःस्थापनाका लागि छिमेकी एवं मित्रराष्ट्रबाट औपचारिक प्रस्तावमार्फत प्राप्त हुने सहयोग स्वीकार गरी धन्यवाद दिने निर्णय भएको जानकारी दिइन् ।

बैठकले भूकम्पमा परी निधन भएकाका परिवारलाई प्रतिव्यक्ति रु दुई लाखका दरले दिने र सरकारी अस्पतालमा सबै घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । प्रभावित क्षेत्रमा हालका लागि अस्थायी आवासका लागि टहरा निर्माण गर्ने निर्णय बैठकले गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us