जाजरकोटमा भारतबाट घर आएकै दिन भूकम्पमा परी एकै परिवारका चार जनाको मृत्यु

काठमाण्डु टुडे २०८० कार्तिक १९ गते १३:४० मा प्रकाशित

जाजरकोट, १९ कातिक– जाजरकोटको नलगाड नगरपालिकाको–१ मा रहेको चिउरी बस्तीमा शुक्रबार राति जिल्लामा केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी १३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४ महिला, ९ पुरुष रहेका छन् । जसमा ५ बालबालिका रहेका छन । स्थानीय हिरा कामी शुक्रबार मात्रै भारतबाट घर आएका थिए। सोही रात भूकम्पमा परि उनीसहित श्रीमती, दुई छोरा माइलो र कान्छो को पनि मृत्यु भयो ।

उनका जेठा छोरा भारतमै रहेका छन । भने सबैभन्दा कान्छी छोरीको अस्पतालमा उपचार भईरहेको छ । उनी भूकम्पमै परेर घाइते भएकी थिइन्। अर्का स्थानीय भिउसन कुमाईंको सपरिवार नै भूकम्पमा परेर निधन भयो ।

उनीसँगै श्रीमती र छोराको मृत्यु भएको हो । उनको एक मात्र सन्तान रहेका थिए । स्थानीय दलवीर विटालुकी श्रीमती र छोराको मृत्यु भएको छ । दलिवीर भने परीक्षा दिनमा लागि नेपालगन्ज गएकाले उनी मृत्यु हुनबाट जोगीए ।

अर्का स्थानीय धनबहादुर महरका ७ वर्षीय छोरा प्रवेश महरको पनि मृत्यु भएको छ। यस्तै स्थानीय दत्त कुमाईंको पनि मृत्यु भयो। उनकी श्रीमती र आमा घाइते भएका छन्। उनीहरूको नेपालगञ्जमा उपचार भइरहेको छ।

छोरा भने बाहिर थिए । यस्तै एक जना माइत आएकी महिलाको पनि मृत्यु भएको छ। शनिबार व्यवस्थापनको अभावका कारण मृतकको दाहसंस्कार हुन सकेन । गाउँका अगुवाका रूपमा चिनिने युवा हात्तीराम महरका अनुसार शनिबार नै सबै शवहरू जलाउनका लागि काठको अभाव थियो भने धेरै समय उद्धारमै समय बित्यो ।

आइतबार भने १३ जनाकै‌ सामूहिक दाहसंस्कार गरिएको छ। भेरी नदीमा मृतकको दाहसंस्कार गरिएको छ। यहाँका गम्भीर घाइतेहरूको उपचार भइरहेको छ। १८६ घरधुरी सङ्ख्या रहेको यो बस्तीको जनसङ्ख्या करिब साढे ९ सय रहेको छ । घरमा बस्न सकिने अवस्था छैन भने अन्नहरू सबै भत्किएको घरमा पुरिएका छन् । यहाँ राहत आवश्यक छ।

तर, अहिलेसम्म राहतको कुनै सामग्रीको व्यवस्थापन‌ हुन सकिरहेको छैन। स्थानीय कलिवान विक भन्छन्, बस्न र खानाकै लागि समस्या छ।‌ त्रिपाल छैन। घरभित्र बस्न सकिने अवस्था छैन। हिजो राति त लास कुर्नमै बित्यो । आज कसरी रात‌ कटाउने हो ?’ याहाँका अधिकांश घरहरूमा क्षतिग्रस्त अवस्थामा छन्। पाल भएकाहरू पाल हालेर गरामा बसिरहेका छन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us