चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीले पत्र पठाउँदै भनेः भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्न चाहन्छौं

काठमाण्डु टुडे २०८० कार्तिक १९ गते ९:२६ मा प्रकाशित

काठमाण्डु, १९ कात्तिक– चिनियाँ राष्ट्रपति सी चिनफिङले जाजरकोट भूकम्पका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

राष्ट्रपति रामचन्ज्द्र पौडेललाई एक सन्देश पठाउँदै सीले भूकम्पबाट भएको मानवीय क्षतिप्रति समवेदना प्रकट गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

सीले चिनियाँ सरकार र जनताको तर्फबाट मृतकहरूप्रति गहिरो समवेदना प्रकट गर्नुका साथै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरे ।

यस्तै उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् । उनले भूकम्पपछिको राहत, उद्धार र पुनस्र्थापनामा आवश्यक सहयोग गर्न इच्छुक रहेको पनि बताएका छन् ।

‘नेपालमा गएको शक्तिशाली भूकम्पले ठूलो मानवीय र जनधनको क्षति भएको खबरले म स्तब्ध भएको छु’, सन्देशमा सीले भनेका छन्, ‘मलाई विश्वास छ नेपालको सरकारले भूकम्प प्रभावित क्षेत्रमा छिट्टै पुनःनिर्माणको कामलाई अघि बढाउने छ । छिमेकी मित्रराष्ट्र सामु आइपरेको दुःखको यो घडीमा राहत, पुनस्र्थापना र पुनः निर्माणका लागि सहयोग गर्न चीन इच्छुक र तत्तर छ ।’

यस्तै चिनियाँ प्रधानमन्त्री ली छ्याङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सन्देश पठाउँदै संकटको घडीमा नेपाललाई चीनको साथ रहने प्रतिबद्धता जनाएका छन् ।

उनले पनि घटनाप्रति दुःख व्यक्त गर्दै आवश्यक सबै सहयोग गर्ने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

चीनले यसअघि शनिबार तत्कालका लागि १० करोड रुपैयाँ बराबरका राहत सामग्री उपलब्ध गराउने घोषणा गरेको थियो । काठमाण्डुस्थित चिनियाँ राजदत छन सङले सामाजिक सञ्जाल एक्समार्फत् भूकम्प प्रभावित क्षेत्रमा १० करोड मूल्यका राहत सामग्री पठाउन लागिएको जानकारी दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us