
काठमाण्डु, १९ कात्तिक– जाजरकोट भूकम्पबाट प्रभावितलाई राहत र पुनस्र्थापना प्याकेजबारे निर्णय गर्न मन्त्रिपरिषद बैठक बसेको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । प्रधानमन्त्री प्रचण्ड शुक्रबार बिहान सेनाको हेलिकोप्टरमा औषधि र चिकित्सकसहितको टोली लिएर भूकम्प प्रभावित क्षेत्र पुगेका थिए ।
दिनभर जाजरकोट र रुकुमपश्चिमका विभिन्न स्थानमा पुगेका उनले आज बिहानै मन्त्रिपरिषद बैठक बोलाएका हुन् । मन्त्रिपरिषद बैठक लगत्तै प्रधानमन्त्रीले आफू अध्यक्ष रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाएका छन् ।
जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११ बजेर ४७ मिनेटमा ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पमा जाजरकोटका १ सय ४ र रुकुमपश्चिमका ५३ जनाले ज्नाय गुमाएका छन् ।
जाजरकोट केन्द्रबिन्दु भएर आइतबार बिहान मात्र दुईपटक पराकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
रामीडाँडा केन्द्रबिन्दु भएर बिहान १ बजेर २२ किमनेटमा ४ रेक्टरस्केल बिहान ४ बजेर ५३ मिनेटमा ३.८ रेक्टरस्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।