
काठमाण्डु, १५ कात्तिक– संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमण सकाएर आज न्यूयोर्क प्रस्थान गर्दैछन् ।
कतार एयरवेजमार्फत गुटेरेस बिहान १० बजे न्यूयोर्क प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निम्तोमा गुटेरेस आइतबार नेपाल आएका थिए ।
नेपाल बसाइका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीद्वय काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सभामुख देवराज घिमिरेलगायतसँग भेटेका थिए ।
भेटमा उनले शान्ति प्रक्रियाअन्तर्गत संक्रमणकालीन न्यायसम्बन्धी काममा सहयोग गर्न राष्ट्रसंघ तयार रहेको बताएका थिए । अन्तर्राष्ट्रिय मापदण्ड तथा सर्वोच्च अदालतको फैसलालाई ध्यान दिँदै पीडितमैत्री कानून बनाउन सुझाए ।
न्यूयोर्क फर्कनुअघि उनले मंगलबार संघीय संसदका दुवै सदनको बैठकलाई सम्बोधन गरेका थिए । नेपाल बसाइका क्रममा उनले सगरमाथा र अन्नपूर्ण आधार शिविर, पोखरा र लुम्बिनीको भ्रमण गरेका थिए ।