
काठमाण्डु, १७ असोज– सोमबार काठमाण्डुको न्यूरोडमा युवकको हत्यामा संलग्न चार जना पक्राउ परेका छन् ।
इन्दजात्रा हेर्न न्युरोड पुगेका ओखलढुंगा लिखु गाउँपालिका–४ का १७ वर्षीय सनी कार्कीको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । हत्या आरोपमा पक्राउ पर्नेमा दुई युवती छन् ।
जिल्ला प्रहरी परिसरका एसपी कुमोध ढुंगेलका अनुसार पक्राउ पर्नेमा ललिपुरको लुकुसीकी २० वर्षीया सोनिया श्रेष्ठ, ललितपुरकै एकान्तकुना बस्ने २२ वर्षीय सन्देश खड्की, मकवानपुर हेटौंडा–२ घर भई हाल काठमाण्डु बस्ने १९ वर्षीया भूमी मल्ल र ललितपुर गोदावरी नगरपालिका–५ का १९ वर्षीय अरबिन ठकुरी छन् ।
खड्की र श्रेष्ठलाई घटनाकै काठमाण्डुको मखनबाट, मल्ललाई क्षेत्रपाटी र ठकुरीलाई ललितपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले ठकुरीको साथबाट घटनामा प्रयोग भएको चक्कु बरामद गरेको छ ।
सबैलाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको काठमाण्डु प्रहरी परिसरले जनाएको छ ।