
काठमाण्डु, १७ असोज– वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ ।
लामो समयदेखि दमको रोगबाट पीडित उनको गएराति निधन भएको पारिवारिक श्रोतले जनाएको छ । भारत दार्जिलिङकी बासिन्दा खातीले नारायण गोपाल, तारादेवी, गोपाल योञ्जन, कर्म योञ्जन र मिरा राणासँग नेपाली गीत गाएकी थिइन् ।
पहिलो पटक सन् १९६२ मा काठमाण्डु आएकी उनले संगीतकार शिवशंकर र नातिकाजी श्रेष्ठको आग्रहमा नेपाली गीत गाएकी थिइन् । खातीले गाएको, बिछोडको पीडा नसकी खप्न दशैँको बेलामा, सम्झेर बुझेर, खोलाको दुई किनार, बचाई राख, न्याउली बास्यो, हराभरा तोरी फूल, सम्हाल पछ्यौरीजस्ता दर्जनौं गीत अहिले पनि चर्चित छन् ।
खातीले करिब १ सय ५० भन्दा बढी गीतमा स्वर दिएकी छन् । उनको जन्म सन् १९३९ अक्टोबर ६ तारिखका दिन दार्जिलिङमा भएको थियो ।