बालेन्द्र साहद्वारा राष्ट्रपति पौडेलको खुलेर प्रशंसा

काठमाण्डु टुडे २०८० असोज ११ गते १९:३९ मा प्रकाशित

काठमाण्डु, ११ असोज– काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले राष्ट्रपति रामचन्द्र पौडेलको खुलेर प्रशंसा गरेका छन् ।

बिहीबार इन्द्रजात्रा अवलोकनमा आउँदा वसन्तपुर दरबार स्क्वायर क्षेत्रमा सवारी साधन प्रवेश नगराउन आफूले गरेको आग्रह स्वीकार गरेको भन्दै उनले राष्ट्रपति पौडेलको प्रशंसा गरेका हुन् ।

पौडेलसहित विशिष्टहरु न्यूरोडको जुद्ध शालिकदेखि गद्दी बैठकसम्म पैदलै गएका थिए । महानगरले यसअघि नै वसन्तपुर दरबार क्षेत्रमा सवारी साधन निषेध गरेको छ ।

‘सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथिहरूले काठमाण्डु महानगरको अनुरोध स्वीकार गरिदिएर विश्व सम्पदा क्षेत्रमा हामीले बनाएको (नो भेहकल जोन (सवारीसाधन निषेधित क्षेत्र) मा सवारीसाधन प्रवेश गराइदिनु भएन’, मेयर साहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उहाँहरूले जुद्ध शालिकदेखि पैदल नै गई जात्रा अवलोकन गरिदिनु भो । हामीलाई विश्वास छ, यसबाट सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथिहरूले जात्रा अवलोकन गर्न पैदल जाने अभ्यासलाई संस्थागत बनाउने छ ।’

उनले यो सामान्य विषय भए पनि सम्पदा संरक्षणमा अर्को फड्को भएको उल्लेख गरे । ‘सामान्य जस्तो लागे पनि काठमाडौंका सम्पदा संरक्षणमा यो अर्को फड्को हो । हाम्रो अनुरोधको परिवर्तनलाई स्वीकार गरिदिनु भएकोमा आभारी छौं । हाम्रो सम्पदा, हाम्रो पहिचान,’ बालेनले भनेका छन् ।

राष्ट्रपति यादव जाँदा विगतमा जस्तो घण्टौं सडकमा यातायात आवागमन बन्द गरिएको थिएन । यसअघि यस्ता कार्यक्रममा राष्ट्रपति जाँदा र फर्कंदा घण्टौंसम्म सर्वसाधारणलाई सडकमा यात्रा गर्न रोक्ने गरिएको थियो ।

राष्ट्रपति पौडेलले आफ्नो सवारीका कारण सर्वसाधारणलाई सास्ती नहुने प्रतिबद्धता राष्ट्रपति निर्वाचित भएकै दिन गरेका थिए । उनले आफ्नो प्रतिबद्धता पुरा गर्दै आएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us