
काठमाण्डु, ११ असोज– राप्रपा सांसद ध्रुवबहादुर प्रधानको निजी सुरक्षा सहायकका रुपमा कार्यरत नेपाल प्रहरीका सहायक निरीक्षक (असई) लक्ष्मण चौधरीकी पत्नी लक्ष्मी चौधरीले आफैंमाथि गोली चलाएकी छन् ।
पूर्वप्रहरी महानिरीक्षकका हैसियतमा प्रधानले व्यक्तिगत सुरक्षा अधिकारी (पिएसओ) लिएका थिए । श्रीमानको पेस्तोलबाट कोखामा गोली हानेकी उनको अवस्था गम्भीर छ । लक्ष्मीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।
लक्ष्मण घरमा नभएका बेला लक्ष्मीले श्रीमानको पेस्तोलबाट गोली हानेको प्रारम्भिक अनुसन्धानबाट देखिएको काठमाण्डु प्रहरी परिसरका एसपी कुमोद ढुंगेलले बताए । उनले घटनाबारे थप छानबिन भइरहेको जानकारी दिए ।