अब नेकपा ब्युँताउन असम्भवः ओली

काठमाण्डु टुडे २०८० असोज १० गते १७:४८ मा प्रकाशित

सुर्खेत, १० असोज– एमाले अध्यक्ष केपी ओलीले अब नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ब्ुयँताउन सम्भव नरहेको बताएका छन् ।

पार्टीको कर्णाली प्रदेश अधिवेशनको बुधबार सुर्खेतमा उद्घाटन गर्दै नेकपा ब्युँताउन असम्भव रहेको बताए । आफ्नै पार्टीको सरकार ढालेर कांग्रेसको शरणमा गएकाहरूले जनता झुक्याउन नेकपा ब्युँताउने कुरा गरेको उनको भनाइ थियो ।

ओलीले भने, ‘नेकपा ब्युँताउने कुरा अब सम्भव छैन । नेकपाको सरकार ढालेर कांग्रेसको शरणमा पर्न गएकाहरूले जनतालाई झुक्याउन नेकपा ब्युँताउने कुरा गर्दैछन् ।’ यद्यपि आफूलाई कम्युनिष्ट हुँ भन्नेहरु सबै एमालेमा मिसिनुपर्ने उनले उल्लेख गरे । ओलीले लुम्बिनी र बागमतिमा जसै गरी कर्णालीमा पनि सहमतिमा नेतृत्व छान्न आग्रह गरे ।

लुम्बिनीमा ओलीले सहर्थन गरेका प्यूठानका हरि रिजाल अध्यक्षमा पराजित भए । यस्तै बागमतीमा ओलीले निर्वाचन नगर्न निर्देशन दिए पनि अन्ततः निर्वाचन हुने नै भएको छ ।

ओलीले स्वदेशी र विदेशी शक्तिबाट एमालेमाथि घेराबन्दी भइरहेको भन्दै घेरा तोडेर अघि बढिने उल्लेख गरे ।

ओलीले देशमा अहिले विदेशी इशारामा चल्नेहरुको सरकार रहेको आरोपसमेत लगाए । वर्तमान सरकार र सत्ता गठबन्धनलाई गैरजिम्मेवारको संज्ञा दिएका उनले ०८४ को निर्वाचनमा गठबन्धनलाई एमालेले पछार्ने दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us