
काठमाण्डु, ९ असोज– सरकारले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमणमा संलग्नलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन–२०६६ अनुसार उनीहररुमाथि कारबाही गर्ने बताएका हुन् ।
पोखराको मणिपाल, लमजुङ जिल्ला अस्पताल र पाटन अस्पताललगायतमा चिकित्सकमाथि हातपात भएको विरोधमा चिकित्सक र स्वाथ्यकर्मीले मंगलबार राजधानीमा प्रदर्शन गरे ।
त्यसपछि सरकारले चिकित्सकका प्रतिनिधि बोलाएर वार्ता गरेको हो । गृह मन्त्रालयमा भएको वार्तामा दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता सरकारबाट तर्फबाट आएको नेपाल चिकित्सक संघले जनाएको छ ।
स्वास्थ्य संस्थामा उपचारसम्बन्धमा गुनासो भए उजुरी पेटिका राख्ने र कानुन हातमा लिने प्रयास गरिए कारबाही गर्ने विषयमा उल्लेख गरेर सूचना राख्न गृहमन्त्री श्रेष्ठ र स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले प्रतिबद्धता जनाएको चिकित्सक संघका अध्यक्ष डा अनिलविक्रम कार्कीले जानकारी दिए ।
चिकित्सकहरुले भने कार्यक्षेत्रमा रहेका डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही नभए स्वास्थ्य संस्था बन्द गरेर हड्तालमा उत्रने चेतावनी दिएका छन् ।