
काठमाण्डु, ८ असोज– कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जनतामा निराशा व्याप्त भएको बताएका छन् ।
जारी केन्द्रीय समिति बैठकमा बोल्दै सोमबार केसीले बेथिती, निराशा र असन्तुष्टि चुलिए पनि सरकारको सुशासनको नारा नारामै सीमित भएको टिप्पणी गरे ।
सरकार र दलहरुले जनतामा नयाँ आशा, विश्वास र भरोसाको प्रत्याभूति दिने वातावरण निर्माण गर्नुपर्नेमा केसीको जोड दिए । केसीले नेताहरु पार्टी कब्जाको होडमा लागिरहँदा जनता अरुले नै कब्जा गरिसकेको बताए । उनले पार्टीबाट जतता टाढिएको र विकल्प खोज्ने थालेकाले समयमै सचेत बन्नुपर्ने बताए ।
‘हामी पार्टी कब्जाको होडमा छौं । सभापति पनि आफ्नो ढंगबाट लाग्नुभएको होला । हामी पनि लागेका छौं । तर जनता अर्कैले कब्जा गरिसकेका छन्’, केसीले भने, जनता पार्टीबाट टाढाटाढा हुँदैछन् । जनताको खाँचो, पार्टीहरूले जनतामा बाँडेको आश्वासन र सो अनुरुप नभएको अवस्थाले ल्याएको फरक को खाली ठाउँमा आमअसन्तुष्टि र निरासा मात्र होइन जनआक्रोशले विकल्पको बाटो खोज्दैछ ।’
मुलुकको आर्थिक अवस्था दिनानुदिन जर्जर बन्दै गएको र व्यावसायीहरू सटर बन्द गर्न बाध्य भएको विषयमा कसैको ध्यान नगएको उनको भनाइ छ ।