सरकार र शिक्षकबीच आज पनि वार्ता

काठमाण्डु टुडे २०८० असोज ५ गते ७:५१ मा प्रकाशित

काठमाण्डु, ५ असोज– सरकार र आन्दोलनरत शिक्षक प्रतिनिधिबीच आज पनि वार्ता हुँदैछ ।

यसअघि बिहीबार राति अबेरसम्म गृह मन्त्रालयमा भएको वार्ता आज फेरि बस्ने गरी स्थगित भएको थियो । सरकारले संघीय संसद सचिवालयमा दर्ता गराएको विद्यालय शिक्षा विधेयक–२०८० का कतिपय प्रावधानमा असहति जनाउँदै देशभरका शिक्षक विद्यालय बन्द गरेर राजधानी केन्द्रित आन्दोलनमा छन् ।

शिक्षक महासंघको आह्वानमा ७७ वटै जिल्लाबाट हजारौं शिक्षक शिक्षिका विद्यालय बन्द गरेर काठमाण्डु आएका छन् । विधेयकमा १७ बुँदे असहमति राख्दै शिक्षकहरुले बुधबारदेखि देशभरका सामुदायिक विद्यालयको पठनपाठन ठप्प पारेका हुन् ।

अस्थायी शिक्षकलाई स्थायी गरिनुपर्ने, विद्यालय कर्मचारीको दरबन्दी सृजना हुनुपर्ने, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षकको बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायत माग उनीहरुको छ । आफूहरुलाई स्थानीय तह मातहत राखिएकामा शिक्षकहरुले सबैभन्दा बढी आपत्ति जनाएका छन् ।

शिक्षकहरुसँग वार्ताका लागि सरकारले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा टोली गठन गरेको छ ।

टोलीमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, अर्थमन्त्री डा. प्रकाशशरण महत, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा छन् ।

शिक्षकहरुका तर्फबाट आन्दोलनको नेतृत्वकर्ता शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोरसुवेदी, आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुली, नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ र एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रतिनिधि छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us