
काठमाण्डु, २ असोज– एमाले अध्यक्ष केपी ओलीले ओलीले मुलुकमा हिंसा भड्काउने प्रयास भए एमालेलाई स्वीकार्य नहुने बताएका छन् ।
संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा आयोजित ‘सुवास र संविधान’विषयमा कार्यक्रममा मंगलबार ओलीले कुनै पनि नामको हिंसा अस्वीकार्य रहेको बताए ।
एमाले हिंसा रोक्न लागिपर्ने उनको भनाइ थियो । ‘हामी राष्ट्रिय एकता खलबलिन दिन सक्दैनौं । अरुको स्वार्थमा लागेर हाम्रो देशमा हिंसा भड्काउने प्रयास जुनसुकै रंग र भेषमा भएपनि एमाले र जनतालाई स्वीकार्य छैन’, उनले भने, यस्ता चिज रोक्न एमाले लागिपर्छ ।’ ओलीले सबै राजनीतिक दल देशप्रति जिम्मेवार भएर अघि बढ्नुपर्ने उल्लेख गरे ।
फरक प्रसंगमा ओलीले कार्यान्वयनमा कठिनाई भएका विषयमा संविधान संशोधन गर्न सकिने बताए । संविधान त्रुटि भए सच्याउन सकिने भन्दै उनले संविधानका सबै प्रावधान स्वीकार्न नसक्ने र केही पनि परिवर्तन गर्न हुन्न भन्नु दुवै गलत भएको स्पष्ट गरे ।
ओलीले संविधान जारी नगर्न आएको दबाब संविधानसभाका अध्यक्ष नेम्वाङले ठाडै अस्वीकार गरेको स्मरण गरे । धेरैले जीवन बलिदान दिएर आएको संविधान र राजनीतिक उपलब्धी गुम्न दिन नदिइने बताए ।