शेखर–गगन समूहको भेलामा विश्वप्रकाश र प्रदीप पौडेलको खोजी

काठमाण्डु टुडे २०८० असोज २ गते १८:२० मा प्रकाशित

काठमाण्डु, २ असोज– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल डा. शेखर कोइराला–गगन थापा समूहले बोलाएको बैठकमा सहभागी भएनन् ।

मंगलबार उक्त समूहले आफू पक्षधर केन्द्रीय सदस्यहरुको छुट्टै भेला बोलाएको थियो ।

पार्टीको ४ असोजबाट सुरु हुने केन्द्रीय समिति बैठकमा संस्थापनमाथि दबाब बढाउने उद्देश्यले शेखर–गगन समूहले भेला आयोजना गरेको थियो ।

भेलाले केन्द्रीय समितिमा महामन्त्रीद्वयले प्रस्ताव गरेको वार्षिक कार्यतालिकामा पार्टीलाई हिंडाउन दबाब दिने निर्णय गरेको भेलामा सहभागी नेता दिलेन्द्रप्रसाद बडुले बताए ।

‘वार्षिक कार्यतालिका अनुसार पार्टी चल्नुपर्छ भन्नेमा हामी स्पष्ट छौं’, बडुले सञ्चारकर्मीसँग भने, ‘कार्यतालिकालाई कुनै पनि हालतमा अवरुद्ध हुन दिइँदैन ।’

गत १० साउनमा काँग्रेस केन्द्रीय समितिले उक्त कार्यतालिका पारित गरेको थियो । भेलाले वर्तमान गठबन्धन सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको निस्कर्ष निकालेको छ ।

पछिल्लो समय शेखर–गगन समूहले सरकारको विकल्प खोज्नुपर्ने बताउँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us