आज राष्ट्रिय शिक्षा दिवस, १ हजार बढी उत्कृष्टलाई विभूषण दिइँदै

काठमाण्डु टुडे २०८० असोज २ गते ८:२४ मा प्रकाशित

काठमाण्डु, २ असोज– आज राष्ट्रिय शिक्षा दिवस– २०८० देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।

दिवसको यो वर्षको नारा ‘समावेशी र सीपमूलक शिक्षाः स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नारा तय गरिएको छ ।

सरकारले दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको छ । मन्त्रालयले दिवसका अवसरमा शिक्षा क्षेत्रमा योगदान गर्नेहरुलाई नेपाल विद्याभूषण र राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गर्दैछ ।

यसबीचमा स्वदेश र विदेशका विश्वविद्यालयबाट विभिन्न विषयमा विद्यावारिधि उपाधिप्राप्त सात सय ९० जनालाई ‘क’, स्नातकोत्तर तहमा आफ्नो विधामा सर्वोत्कृष्ट हुने ७१ लाई ‘ख’ र स्नातक तहमा सर्वोत्कृष्ट हुने ४४ जनालाई ‘ग’ श्रेणीको पदक दिइनेछ । यस्तै छात्रा विद्यापदक पनि प्रदान गरिने मन्त्रालयले जनाएको छ ।

संविधानको व्यवस्थाअनुसार मन्त्रिपरिषदले शिक्षा ऐन–२०७५ प्रमाणीकरण भएको दिनलाई यस वर्षदेखि हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us