मोटरसाइकलले ठक्कर दिएको बदला स्वरुप चार जनाको हत्या

काठमाण्डु टुडे २०८० असोज १ गते ८:२४ मा प्रकाशित

काठमाण्डु, १ असोज–शुक्रबार राति तीनकुनेस्थित एक काठ मिलमा भएको सामूहिक हत्याकाण्डको कारण प्रहरीले पत्ता लगाएको छ ।
हत्यामा संलग्न सिन्धुपाल्चोक बाह्रबिसेका २३ वर्षीय सञ्जय भण्डारी फक्राउ परेसँगै घटनाको कारण खुलेको हो ।

उनलाई प्रहरीले सिन्धुपाल्चोक जान लाग्दा आइतबार लोकन्थलीबाट पक्राउ गरेको थियो । काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले मोटरसाइकलले ठक्कर दिएपछि सुरु भएको विवादले विभत्स हत्याकाण्डको रुपमा लिएको बताए ।
बोलीसम्बन्धी अपांगता भएका भण्डारीलाई घटनामा मारिएका नवीन राईले केही समयअघि चावहिलमा मोटरसाइकलले ठक्कर दिएका थिए ।

त्यस क्रममा उनीहरुबीच विवाद भएको र राईले भण्डारीमाथि हातपात गरेको प्रहरी अनुसन्धानले देखाएको छ । त्यसैको बदला लिन भण्डारीले राईको हत्या गर्न योजना बनाए ।

खुकुरी बोकेर शुक्रबार राति दिव्य सः मिलमा गएका उनले राईको हत्या गरेपछि मिलमा रहेका अरुले देखे । उनीहरुका कारण प्रहरीको फन्दामा पर्ने डरले भण्डारीले मिलमा सुरक्षागार्डका रुपमा कार्यरत ५५ वर्षीय पूर्णबहादुर भुजेल, उनकी श्रीमती ५० वर्षकी अम्बिका भुजेल र ६९ वर्षीया शुभद्रा भुजेको हत्या गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us