चिनी, चामल र गहुँको मूल्य घटाउन संसदीय समितिको निर्देशन

काठमाण्डु टुडे २०८० भदौ ३१ गते १७:१७ मा प्रकाशित

काठमाण्डु, ३१ भदौ– संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चिनी, चामल र गहुँलगायत खाद्यान्नमा मूल्य घटाउन निर्देशन दिएको छ ।

सिंहदरबार आइतबार बसेको समिति बैठकले दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देश गरेको हो । बैठकले चिनी, चामल र गहुँमा भ्याट र भन्सार शुल्कमा छुट दिन अर्थ मन्त्रालयलाई निर्देशन दिएको सभापति अब्दुल खानले जानकारी दिए ।

मन्त्रिपरिषदले साल्ट ट्रेनिङ कर्पोरेसन र व्यापार कम्पनी लिमिटेडलाई २० हजार मेट्रिक टन चिनी आयातमा ५० प्रतिशत छुट दिने निर्णय गरेको थियो । चिनी आयातमा ३० प्रतिशत भ्याट लाग्दै आएको छ ।

सभापति खानका अनुसार दसैं, तिहार र छठजस्ता ठूला चाडपर्व नजिकिँदै गरेकाले दैनिक उपभोग्य बस्तुको कृत्रिम अभाव तथा कालोबजारी नियन्त्रण गर्न पनि सरकारको ध्यानाकर्षण गरिएको बताए ।

यस्तै समितिले कृत्रिम अभाव, मुल्यवृद्धि, कालोबजारी तथा मिसावट नियन्त्रणका लागि बजार अनुगमन गर्ने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us