
काठमाण्डु, २८ भदौ– राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद डा. ढाकाकुमार श्रेष्ठबारे सामाजिक सञ्जालमा टिप्पणी गर्ने एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्याङ्जाको आँधीखोला गाउँपालिका–५ ठूलीबराहका ३५ वर्षीय सुर्यबहादुर रेग्मी छन् । श्रेष्ठले आफ्नो विषयमा भ्रामक प्रचार गरेको भन्दै केही दिनअघि कास्की प्रहरीमा उजुरी दिएका थिए ।
श्रेष्ठको उजुरीका आधारमा रेग्मीलाई बिहीबार पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले जानकारी दिए । विकाका अनुसार रेग्मीविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अनुसार साइबर अपराधमा कारबाही अघि बढाइएको छ ।
स्वास्थ्यमन्त्री बन्न आफूसँग सभापति रवि लामिछानेको कोर टिमबाट रकम माग भएको भन्दै श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो सार्वजनिक भएको थियो । श्रेष्ठलाई रास्वपाले सोही कारण सांसद पदबाट हटाएको थियो ।