
काठमाण्डु, २५ भदौ– स्रोत नखुलेको २६ लाख रुपैयाँ बोकेर काठमाण्डु उड्न लाग्दा नेपालगञ्ज विमानस्थलबाट पक्राउ परेका कर अधिकृत खगेन्द्र सापकोटासँगै रहेका अर्का कर्मचारी पनि सम्पर्कमा आएका छन् ।
आन्तरिक राजश्व कार्यालय तुलसीपुरका कर अधिकृत सापकोटालाई विमानस्थल सुरक्षार्थ तैनाथ प्रहरी टोलीले सोमबार बिहान पक्राउ गरेको थियो ।
सापकोटालाई पक्राउ गरेपछि सँगै रहेका अर्का कर अधिकृत दीपक पौडेल भागेका थिए । बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले पौडेल सम्पर्कमा आएको बताए ।
डाँगीका अनुसार पौडेलले आफै प्रहरीमा उपस्थित हुने जानकारी टेलिफोनमार्फत गराएका छन् । सापकोटा र पौडेल राँझा विमानस्थलबाट श्री एयरलाइन्सको जहाजमार्फत बिहान ८ः४५ मा काठमाण्डु आउन जान लागेका थिए ।
बिहान ७ बजेतिर चेकजाँचका क्रममा स्रोत नखुलेको मोटो रकम भेटिएपछि प्रहरीले सापकोटालाई पक्राउ गरेको हो ।