अमेरिका जाने प्रधानमन्त्रीको टिम इतिहासकै सानो

काठमाण्डु टुडे २०८० भदौ २५ गते १५:०१ मा प्रकाशित

काठमाण्डु, २५ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका जाने भ्रमण टोलीको संख्यामा व्यापक कटौती गरेका छन् ।

प्रधानमन्त्री राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन ३० भदौमा न्यूयोर्क प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले आफू नेतृत्वको टोली पाँच सदस्यीय बनाउन मुख्यसचिव बैकुण्ठ अर्याललाई निर्देशन दिएका हुन् ।

यसअघि टोलीमा २४ जना सहभागी हुने तय भएको थियो । मुलुकको आर्थिक अवस्था राम्रो भएका बेला जम्बो टोलीसहित विदेश भ्रमण गर्न नहुने भन्दै प्रधानमन्त्रीले अर्याललाई सानो टिम बनाउन मन्त्रिपरिषद बैठकमै निर्देशन दिएका थिए । श्रोतका अनुसार मंगलबार बस्ने मन्त्रिपरिषद बैठकले टोलीबारे निर्णय गर्नेछ ।

प्रधानमन्त्रीसँग उनीसहित प्रमुख स्वकीय सचिव गंगा दाहाल, एक जना फोटो ग्राफर र दुई सुरक्षाकर्मी मात्र हुनेछन् । यसअघि प्रधानमन्त्रीको टोलीमा प्रमुख राजनीतिक सल्लाकार हरिबोल गजुरे, स्वकीय सचिव रमेश मल्ल, मुख्यसचिव अर्याल, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी, प्रधानमन्त्री कार्यालयका सचिव, सह–सचिव र केही उपसचिव सहभागी थिए ।

परराष्ट्रमन्त्री एनपी साउद नेतृत्वको टोली भने मंगलबार नै अमेरिका प्रस्थान गर्दैछ । चार गर्ने महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री प्रचण्ड असोज ५ गते न्यूयोर्कबाट सिधै चीनको राजकीय भ्रमणमा जानेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us