विमानस्थलबाट चार जना पक्राउ

काठमाण्डु टुडे २०८० भदौ २५ गते ७:२६ मा प्रकाशित

काठमाण्डु, २५ भदौ– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चार जनालाई पक्राउ गरेको छ ।

विमानस्थलको आगमन पार्किङबाट भन्सार छलेर लैजान लागेको दुई थान ब्रासलेट र एक थान बेरुवा औंठीसहित उनीहरुलाई पक्राउ गरिएको हो । सुनजस्तो देखिने उक्त पदार्थको तौल ८५ ग्राम छ ।

पक्राउ पर्नेमा काठमाण्डु महानगरपालिका–८ का ३० वर्षीय शनि देउला, मोरङ पथरी शनिश्चरे नगरपालिका–१ का ३८ वर्षीय कमल गुरुङ तथा ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–१ का २१ वर्षीय अनिश गुरुङ र २१ वर्षीय रोशन विश्वकर्मा छन् ।

प्रहरी प्रवक्ता कुबेर कडायतले हिमालय एयरको उडानद्वारा कतारको दोहाबाट आएका अनिश र रोशनले उक्त धातु ल्याएका थिए । शनि देउला र कमल गुरुङले उनीहरुका साथबाट सो सामान लिएर बाहिर निस्कन लागेका थिए ।

प्रहरीले गतिविधि शंकास्पद लागेर उनीहरुलाई पक्राउ गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us