जब केपी ओलीले यती होल्डिङ्सका पक्षमा खुला अभिव्यक्ति दिए…

काठमाण्डु टुडे २०८० भदौ २४ गते १७:१८ मा प्रकाशित

काठमाण्डु, २४ भदौ– एमाले अध्यक्ष केपी ओलीले व्यवसायिक समूह यती होल्डिङस् कम्पनीको पक्षमा खुला अभिव्यक्ति दिएका छन् ।

एमाले सहकारी तथा गरिबी निवारण विभागले आइतबार राजधानीमा गरेको कार्यक्रममा उनले यती होल्डिङ्सलाई सरकारले अनावश्यक दुःख दिएको आरोप लगाए । उनले सोलुखुम्बुको शेर्पाको छोराले भारी बोकेर बनाएको कम्पनी यती होल्डिङ्सलाई खेद्नेलाई दलाल पुँजीपतिको संज्ञा दिए ।

राष्ट्रिय पुँजीपतिलाई खेदेर दलाल पुँजीको संरक्षण गर्ने काममा वर्तमान सरकार लागेको आरोप उनको थियो । ‘सोलुको एउटा शेर्पा भारी बोकेर हिँड्थ्यो रे बच्चैदेखि । त्यस्तो मान्छेले अहिले हवाइजहाज पनि उडाएको छ । पयर्टन पनि चलाएको छ । होटल पनि चलाएको छ । हेलिकप्टर पनि चलाएको छ, गर्न पाइन्छ ?’, उनले भने, ‘भारी बोकेर हिँड्ने शेर्पाले उसले कमाएको सम्पत्ति स्वीटजरल्याण्डमा लाँदैन । माल्दिभ्समा लाँदैन । श्रीलंकामा लाँदैन । बंगलादेश लाँदैन । भारत लाँदैन, मुम्बइमा होटल छैन, श्रीलंकामा होटल छैन, यस्तालाई पनि गर्न दिन्छ भनेका भन्यै छन् माओवादीहरु ।’

ओलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङलाई पनि सरकारले पक्राउ गरेर अनाहकमा दुःख दिएको बताए । ओलीले सरकारका बारेमा अगाडि भने, ‘यो दलाल पुँजीपतिहरुको तमासा हो । पोलिटिकल स्टन्ट, दलाल पुँजीवादीहरुको फण्डा हो । त्यसकारण त्यसका पछाडि कोही छन् भने दलाल पुँजीवादीहरु छन् । यिनको टुप्पी दलाल पुँजीवादीहरुको हातमा छ ।’

सरकारले राष्ट्रिय उद्यमीहरुलाई छानीछानी कारबाही गरेर हतोत्साहित पार्ने दिशामा अघि बढेको आरोप ओलीले लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us