
विराटनगर, २४ भदौ– कोशी प्रदेश सरकारले बजेट अध्यादेश ल्याएको छ ।
प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा २०२ (१) अनुसार आइतबार बजेट र विनियोजन अध्यादेश जारी गरेका हुन् । एमाले नेता हिक्मत कार्की पुनः मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै प्रदेश मन्त्रिपरिषदले अध्यादेश ल्याउने निर्णय गरेको थियो ।
सर्वोच्च अदालतले काँग्रेस नेता उद्धब थापा नेतृत्वको सरकारलाई अवैध घोषणा गर्दै कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि उनी शुक्रबार मुख्यमन्त्री नियुक्त भएका थिए ।
कार्की नेतृत्वको सरकारले गत जेठ ३२ गते ल्याएको बजेट अध्यादेश संसदबाट अनुमोदन नभएपछि १० भदौमा निष्क्रिय भएको थियो । अध्यादेश निष्क्रिय भएका कारण प्रदेशमा बजेट शून्यताको अवस्था आएको थियो ।