गगन थापा भन्छन्ः भारत अमेरिका र चीनले बुझोस्, अखण्डताको सबालमा काँग्रेस, एमाले, माओवादी एकै ठाउँमा छौं

काठमाण्डु टुडे २०८० भदौ १६ गते १७:३९ मा प्रकाशित

झापा, १६ भदौ– कांग्रेस महामन्त्री गगन थापाले नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर जारी गरेको नयाँ नक्सा स्वीकार नगरेकामा उत्तरी छिमेकी चीनको आलोचना गरेका छन् ।

झापामा शनिबार आयोजित एक कार्यक्रममा थापाले नेपालको संसदले सर्वसम्मत गरेको निर्णय स्वीकार गर्न नसक्नु चीनको ठूलो कमजोरी भएको बताए । ‘नेपालले गरेको निर्णयलाई चीनले सम्मान गर्न सकेन । यसमा काँग्रेस, एमाले, माओवादी र नयाँ पुराना सबै पार्टी चिन्तित छौं’, उनले भने, ‘कांग्रेस मात्र होइन, कुनै पनि दलले चीनको हर्कत ठीक छ भनेको छैन ।’

राष्ट्रिय अखण्डता र सार्वभौमिकताको सवालमा सिंगो देश एकठाउँमा रहेको थापाको भनाइ थियो । थापाले नेपाल एमसीसी, बीआरआई जस्ता परियोजनामा सबैसँग मिलेर काम गर्न इच्छुक भए पनि राष्ट्रिय अखण्डता र सार्वभौमिकताको सवालमा कहीँ कतै सम्झौता नगर्ने स्पष्ट गरे ।

थापाले नेपालमा कसैलाई कमजोर पार्नुपर्दा भारत, चीन र अमेरिका परस्तको आरोप लगाउने प्रचलन पहिल्यैदेखि चल्दै आएको बताए ।

‘अखण्ड नेपालको भू–भागमा कांग्रेस, एमाले, माओवादी छैन, सब एक छौं, उनले भने, ‘भारत, अमेरिका, चीन अनि संसारले यो कुरा बुझोस्, जब नेपालको अखण्डता, सार्वभौमिकताको कुरा आउँछ, सिंगो नेपाल एकठाउँमा हुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us