ललिता निवासमा माधव नेपाल र बाबुरामलाई जोगाएको भन्दै एमालेको आपत्ति

काठमाण्डु टुडे २०८० भदौ १६ गते १७:०७ मा प्रकाशित

बुटवल, १६ भदौ– एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बालुवाटारस्थित ललिता निवास प्रकरणमा आफू निकटलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उन्मुक्ति दिलाएको आरोप लगाएका छन् ।

एमाले लुम्बिनी प्रदेशको अधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले सरकारी जग्गा हिनामिना गर्ने निर्णयकर्तालाई प्रचण्डले सुनपानी छर्किएर चोख्याएको आरोप लगाए । यद्यपि प्रचण्डले भन्दैमा दोषीले उन्मुक्ति नपाउने उनको भनाइ थियो ।

ललिता निवास प्रकरणमा नीतिगत निर्णय गरेका तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध सरकारी वकिलले अभियोजना दर्ता नगराएको तर्फ ज्ञवालीले संकेत गरेका हुन् ।

शुक्रबार सुर्खेतमा समाजवादी मोर्चाले गरेको सन्देशसभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले सीआईबीले मुद्धा चलाउन नमिल्ने भनेसँगै नेपाल निर्दोष साबित भएको बताएका थिए ।

ज्ञवालीले जनअदालतको निर्णय मान्य नहुने भन्दै अदालतले निर्णयकर्तालाई उन्मुक्ति नदिने जिकिर गरे ।

‘प्रचण्डज्यू, यहाँ तपाईंको जनअदालत छैन । संविधान बमोजिम अदालत छ । त्यहीँ निर्णय हुन्छ’, कसैले सुनपानी छर्किँदैमा अभियुक्त बच्नु हुँदैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us