एमाले फुट्ने र फेरि बाम एकता हुने प्रचण्डको दाबी

काठमाण्डु टुडे २०८० भदौ १४ गते १९:५८ मा प्रकाशित

काठमाण्डु, १४ भदौ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी एमाले विभाजनको मुखमा पुगेको दाबी गरेका छन् ।

समाजवादी मोर्चाको कर्णाली प्रदेशस्तरीय सभालाई बिहीबार सुर्खेतमा सम्बोधन गर्दै उनले एमालेभित्रको बिग्रह विस्फोटको सन्निकट रहेको बताए । प्रचण्डले एमालेमा ठूलो धाँजा परेको दाबी गरे ।

एमाले मुख्य नेतृत्वका कारण धेरै नेता र कार्यकर्तामा हैरानी महसुस भएको उनले बताए । अध्यक्ष केपी ओलीका कारण एमालेप्रति जनतामा निराशाा बढेको प्रचण्डको भनाइ थियो ।
‘आफूलाई ठूलो पार्टी भन्ने प्रतिपक्षी पार्टीभित्र ठूलो धाँजा परेको छ । नेताको विशाल पंक्ति र कार्यकर्ता हैरान परेसान भएर कहीँ न कहीँ विस्फोट हुने अवस्थामा छ’, उनले भने, ‘ मलाई लाग्छ त्यहाँबाट कहीँ न कहीँ कम्युनिस्ट आन्दोलनको नयाँ ध्रुवीकरण सुरू हुन्छ ।’

एमाले अध्यक्ष केपी ओलीतर्फ लक्षित गर्दै उनले उनमा कसैले राम्रो काम गरेको देख्नै नसक्ने प्रवृत्ति रहेको आरोप पनि लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us