अमेरिकी सांसद टोलीलाई राष्ट्रपतिले भनेः मानवीय मूल्य स्थापित हुन लोकतन्त्र पहिलो सर्त हो

काठमाण्डु टुडे २०८० भदौ १४ गते १९:३० मा प्रकाशित

काठमाण्डु, १४ भदौ– नेपाल भ्रमणमा रहेको अमेरिकी सांसदहरुको टोलीले राष्ट्रपति रामचन्द पौडेललाई भेटेको छ ।

मार्क पोकनको नेतृत्वमा आएको अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डलले राष्ट्रपति भवन शीतल निवासमा बिहीबार पौडेलसँग शिष्टाचार भेटवार्ता गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार राष्ट्रपतिले प्रतिनिधि मण्डलसँगको भेटमा लोकतन्त्र स्थापनासँगै नेपालमा नयाँ संविधानले समावेशी प्रावधानसहितका मानवीय मूल्यहरूलाई स्थापित गरेको बताए ।

समाजमा मानवीय मूल्य कायम हुन लोकतन्त्र पहिलो सर्त भएको बताएका थिए । नेपालको संविधानले सीमान्तकृत समुदायका अधिकार सुनिश्चित गरेको तथा उनीहरुलाई राज्यका हरेक तहमा सहभागिताको ग्यारेण्टी गरेको चर्चा गरेका थिए ।

भेटमा अमेरिकी सिनेटरहरु मार्क पोकन, डान किल्डी, भेरोनिका एस्कोबार र सुसन वाइल्ड, नेपालस्थित अमेरिकी राजदूत डिन थोम्पसन थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us